भक्तपुर । काभ्रेपलाञ्चोक बागमती प्रदेश अन्तरनगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा टिम च्याम्पियन भएको छ ।
भक्तपुरको गट्ठाघरस्थित अर्बिट इङ्लिस स्कुलमा आइतबार सम्पन्न च्याम्पियनसिपमा काभ्रेपलाञ्चोक सर्वाधिक सात स्वर्णसहित च्याम्पियन भएको हो। काभ्रेपलाञ्चोकले दुई रजत र चार कांस्य पदक पनि जित्यो। आयोजक भक्तपुर चार स्वर्ण, चार रजत र ६ कांस्यसहित दोस्रो भयो। ललितपुर जिल्ला तेस्रो स्थानमा रह्यो। ललितपुरले तीन स्वर्ण, चार रजत र ६ कांस्य पदक प्राप्त ग¥यो। प्रतियोगितामा पुरुषतर्फ काभ्रपलाञ्चोकका साजन तामाङ र महिलामा भक्तपुरकी दीपा तामाङ उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक आशिष कार्कीले जानकारी दिए।
दीपाले आइतबार महिला फाइटतर्फ ४१ देखि ४५ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्। उनले फाइनलमा दृष्टि थापालाई हराइन्। काठमाडौंकी रश्मि वाइबा र ललितपुरकी सुप्रिया तामाङले संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे । साजनले भने पुरुष ३१ देखि ३५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए। उनले फाइनलमा भक्तपुरका पवल विकलाई हराए। भक्तपुरकै मुस्कान तामाङ र रिजन शिवभक्ति संयुक्त रूपमा तेस्रो भए। महिला ३१ देखि ३५ केजी तौलसमूहमा काभ्रेकी पूर्णिमा कार्कीले स्वर्ण पदक जितिन्।

उनले फाइनलमा युनिसा प्रजालाई हराइन्। काठमाडौंकी जिआना सेन्चुरी र काभ्रेकी नम्रता कठायत तेस्रो भए। पुरुषको २० देखि २५ केजी तौलसमूहमा काभ्रेका विराज घिसिङले स्वर्ण पदक जिते। यस क्रममा उनले ललितपुरका सबिर महर्जनलाई हराए। काठमाडौंका विवेक केसी र ललितपुरकै हार्दिक गुरुङ तेस्रो भए। पुरुषकै २६ देखि ३० केजी तौलसमूहमा ललितपुरका रविन मगरले स्वर्ण पदक प्राप्त गरे। उनले फाइनलमा सुजन कार्कीलाई पराजित गरे। भक्तपुरका प्रनिश श्रेष्ठ र काभ्रेका कुशल मगर तेस्रो स्थानमा रहे।
पुरुष ३६–४० केजी तौलसमूहमा काभ्रेका निरोज ठकुरीले स्वर्ण पदक प्राप्त गरे। यस क्रममा उनले फाइनलमा नीराजन लामालाई हराए। भक्तपुरका दीपसन भुजेल र ललितपुरका सचिन बेझाले कांस्य पदक प्राप्त गरे। फाइटकै महिला २०–२५ केजीमा काठमाडौंकी इस्मा रानामगरले स्वर्ण पदक जितिन्। उनले फाइनलमा ललितपुरकी विपना तामाङमाथि जित रचिन्। काठमाडौंकै सिपरा गुरुङ र काभ्रेकी सोनिया मैनाली तेस्रो भए। मकवानपुरका लागि मंकिता प्रजाले स्वर्ण पदक दिलाइन्। 
उनले महिला २६–३० केजी तौलसमूहका फाइनलमा भक्तपुरकी आकृति नेपाललाई हराउँदै सफलता पाएकी हुन्। ललितपुरकी रञ्जिता भुजेल र ललितपुरकी एन्जल खड्कीले कांस्य पदक प्राप्त गरे। कुल ११ नगरपालिकाका ३२० खेलाडीले चुनौती प्रस्तुत गरेको प्रतियोगिता संयोजक तथा भक्तपुर आइटिएफ तेक्वान्दोका अध्यक्ष आशिष कार्कीले जानकारी दिए। महिलामा ५ र पु?षमा ६ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो। प्याटर्नमा पहेंलो, हरियो, नीलो र रातो पेटीमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितमा शीर्ष तीन स्थानका टोलीले ट्रफी पाए। उत्कृष्ट महिला र पुरुष खेलाडीलाई पनि ट्रफी प्रदान गरिएको थियो। विजेतालाई सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराई, अर्बिट इङ्लिस स्कुलका यज्ञराज पौडेल र भक्तपुर आइटिएफ जिल्ला आइटिएफ संघका अध्यक्ष आशिष कार्कीलगायतले पुरस्कृत गरे।


