भदौ ८, काठमाडौँ । नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जितेका छन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जितेका हुन्। भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाए।
नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन्। भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले पनि खेल खेलाएका थिए। ग्योरोगी र पुम्सेमा गरी अशोकले ३ फाइनलसहित ९ खेल खेलाए।
विजेतालाई आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, प्रतियोगिता संयोजक राजु क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


