काठमाडौँ । एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा नेपाल एपीएफ फुटबल क्लबले पहिलो अंक हासिल गरेको छ।
मलेसियन घरेलु टोली सबाहसँग गोलरहित बराबरी खेल्दै जारी प्रतियोगितामा एपीएफले पहिलो अंक जोडेको हो।
पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफले दुई खेलबाट एक अंक जोडेको छ।
तुलनात्मक रुपमा घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएको एपीएफ फिनिसिङमा चुक्यो।
नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो। एपीएफ महिला लिग च्याम्पियनको हैसियतमा च्याम्पियनसिप खेलेको हो।
च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन्। च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरीयतामा शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन्।
बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्नेछ। १४ मुलुकका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेता च्याम्पियनसिपको समूह चरणमा प्रवेश गर्ने छन्।


