गण्डकीविरुद्ध कर्णालीको रोमाञ्च जित


काठमाडौं । कर्णाली यसभिसले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलबार भएको दिनको पहिलो खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३-२ को सेटमा रोमाञ्चक जित निकालेको हो।

पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो। त्यसपछिका कर्णालीले दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै २-१ काे अग्रता लियो।

चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल पाँचौं सेटमा पुग्यो। निर्णायक सेटमा १५-१२ काे जित निकाल्दै कर्णालीले दोस्रो जित दर्ता गर्यो।

जितसँगै कर्णालीले दुई खेलमा पाँच अंक जोडेको छ। दुवै खेलमा पराजित गण्डकीको एक अंक छ।

पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो। यता गण्डकी चितवन शक्तिसँग ३-१ सेटमै पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको