हिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्ण


काठमाडौं । हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका छन्।

यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा योङगी पहिलो भएका हुन्।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको ब्वाइज फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७–११, १४–१२, ११–९, १२–१०, ५–११ र ११–२ को सेटमा पराजित गरे। होप्सका रितिम गुरुङ र यलकाका एलेन महर्जन तेस्रो भए।

गल्र्सको उपाधि भिडन्तमा योङगीले भक्तपुरकी दिया देउलालाई ११–८, ११–९, ८–११, १२–१० र ११–८ को सेटमा हराइन्। भक्तपुरकी सोनम ठाकुर र यलकी अंकिता वज्राचार्य तेस्रो बने।

तीनदिने प्रतियोगितामा जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि यु–१० सिंगल्सको ब्वाइजमा एपीएमका दिनेश बोहरा र गल्र्समा एपीएमकै आराध्या विष्ट तथा यु–१२ सिंगल्सको ब्वाइजमा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य र गल्र्समा प्रभातकी उरवी सुवाल पहिलो भएका थिए। यु–१६ सिंगल्सको ब्वाइजमा कीर्तिपुरका जयश्नु महर्जन तथा गल्र्समा भक्तपुरकी क्यारिना सुवालले स्वर्ण जितेका थिए। मिक्स टिम इभेन्टमा होप्स ‘ए’ च्याम्पियन बनेको थियो।

हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिएको थियो। करिब १० लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक उपलब्ध गराइएको आयोजकले जनाएको छ। मिक्स टिम इभेन्टको विजेताले २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्राप्त गरे।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा करिब १ सय ५० प्रतिस्पर्धी सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको