काभा भलिबल कान्तिपुर म्याक्स एचडीमा पनि


काठमाडौं । यसै साता सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले पनि गर्ने भएको छ।

च्याम्पियन्सिपको ब्रोडकास्टिङ पार्टनर हाम्रो खेलकुदले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर टेलिभिजनसँग शुक्रवार सम्झौता गरेको हो।

कान्तिपुर टिभीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। डिजिटलमा हाम्रो खेलकुदको युट्युब र टेलिभिजनमा कान्तिपुर म्याक्स एचडीले च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्नेछ।

नेपालका २, भारत, माल्दिभ्स र इरानको समान १ गरि ५ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्नेछन्।

आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन्।

च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ। काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो।

यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो। त्यो प्रतियोगितामा पनि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनबीच प्रत्यक्ष प्रसारण सहकार्य भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको