नेपाल गल्फ संघले नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सदभाव आचार्यलाई सम्मान गरेको छ। २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु–२१ तर्फको उपाधि विजेता सदभावलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे।
उनलाई सम्मान पत्र र नगद ७५ हजारसहित सम्मान गरिएको हो। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ भने दोस्रो भएका थिए।
युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५–अन्डर २०५ स्कोर गर्दै सदभावले उपाधि जितेका थिए। उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि जित्दै इतिहास बनाए । सन २०१२ देखि नेपाल गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्न सुरू गरेको हो। १२ वर्षमा पहिलो पटक नेपालले ग्रान्ड फाइनलमा उपाधि जितेको हो।
एमेच्योर गल्फ वरियतामा अंक जोडिने यो प्रतियोगिता जितेपछि सदभावको विश्व वरियतामा पनि सुधार भएको छ। उनी ५२ स्थान माथी उक्लदै ३१४ औं स्थानमा उक्लिएका छन्।
सदस्य सचिव घिसिङले विजेता सदभावलाई बधाई दिदै प्रतिभाशाली युवा गल्फरबाट धेरै अपेक्षा राखेको र यसका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
छ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन्। यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ। युएईमा युरोप, मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।


