टाइगर कप भलिबल : यसरी हुन्छन् लिग चरणका खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन्। शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन साेमबार महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ। अब लिग चरणका खेल हुनेछ। सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन्। ती समूहअन्तर्गत लिग खेल हुनेछ।

एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान ८:४५ बजे पहिलो खेल हुनेछ। उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ। दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन्। उक्त खेलमा १०:४५ बजेबाट सुरु हुनेछ ।

तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। साेमबारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ। लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन्।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।’हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको