पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो।
पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो। दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो। अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो। ‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेका हुन्।
पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो। आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन्।
‘हार्ने समूह’बाट अंकविहीन रहेका आर्मी र ट्राभल इन्क्वारीले खेल्नेछन्। पुलिसले अब ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ। ‘जित्ने समूह’ मा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपिएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन्।