पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भोलि दोस्रो क्वालिफायरका खेल हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन भोलि पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ। बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर्स क्लबबिच हुनेछ।
टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो। आयोजकलाई हराएको एपिएफ फाइनलमा पुगेको छ। न्यू डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
शनिबारको दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ साढे १ बजेबाट सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो। गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो । दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो हुनेलाई २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।