तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण


काठमाडौं, माघ २८ । नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो। दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो।

आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन्। आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन्। नेपालले समान तीन रजत र कांस्य पदक पनि जित्यो।

रिप्सना घिमिरे ग्योरोगीतर्फ महिला ४१ केजीमुनि रजत पदक जित्न सफल भएकी हुन्। अर्को रजत पदक भने जेमोस मगरले पुम्से ९ वर्षमुनि उमेरसमूहमा ल्याए।

ग्योरोगीतर्फ सिनियर पुरुष ५८ केजी तौलसमूहमा राकेश सापकोटाले रजत पदक जिते। फाइटतर्फ नै असिम श्रेष्ठले ३७ केजीमुनि तौलसमूहमा कांस्य जिते। लिरिक्स फुयाँलले ९ देखि ११ वर्ष उमेरसमूहको एकल पुम्सेमा कांस्य पदक जितेका हुन्। उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेको नेपाली टोलीका सदस्य विमल रोकायले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको