काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा शनिबार सिंगल्स उपाधि जितेका छन्। अर्नव पुरुष तथा आरती महिलामा पहिलो भए।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे।
महिलाको उपाधि भिडन्तमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११–८, ११–४ र ११–५ को सोझो सेटमा हराइन्। पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार हात पारे।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङ टेबलटेनिस एसोसिएसनका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९–११, ११–९, ११–७ र ११–६ को सेटमा पाखा लगाउदै पहिलो भए।
४० वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई सीधा सेटमा ११–९, ११–७ र ११–६ ले फाइनलमा पन्छ्याउदै शीर्ष स्थानमा रहे।
विजेतालाई ललितपुर महानगरपालिका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जन, मुख्य प्रायोजक सम्झनाकी प्रबन्ध निर्देशक रजना जोशी, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। छदिने प्रतियोगितामा ४ सय २ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निकेश जोशीले जनाएका छन्। सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रुपैयाँ रहेको छ।


