गाेलरहित बराबरीमा रोकिए ललितपुर र धनगढी

काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा शनिबार गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ । धनगढी दुई खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ ।

दशरथ रंगशलामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग सकेनन् ।

खेलको नवौं मिनेटमा  ललितपुरले अग्रता बनाउने मौका गुमायो‌ । मणिकुमार लामाको फ्रि किकमा इमो इजिएलको हेडरलाई धनगढीका रक्षक काइसेडोले गोल लाइनबाट बचाए ।

धनगढीले पनि १६औं मिनेटमा गोलको मौका गुमायो । गोलरक्षक वालिद बिरोको लामो पासमा अहमद हिजाजीको प्रहार पोल नजिकैबाट बाहिरियो ।

इजिकेलले २१औं मिनेटमा गोल गरे पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । ललितपुरले ७१औं मिनेटमा अर्को मौका गुमायो । पापा केबेको उत्कृष्ट क्रसमा केर्भेन्स बेललफोर्टको डाइभिङ हेडरलाई गोलकिपर बिरोले बचाए ।

अहमद हिजाजीको प्रहारलाई ८४औं मिनेटमा ललितपुरका गोलकिपर जेफ्री बाल्टसले उत्कृष्ट बचाउ गरे। इन्जुरी समयमा मणिको फ्रिकिकलाई गोलकिपर बिरोले मुस्किलले बचाउँदै धनगढीकाे संकट टारे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको