निरुता र रविन उत्कृष्ट खेलाडी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका रविन चन्द‌ र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्। 

नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको पाँचौं एनभिए अवार्डमा उनीहरुलाई बर्षको उत्कृष्ट खेलाडी अवार्डले सम्मान गरेकाे हो। अवार्डसँगै दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज र महिला तर्फ न्यू डायमन्ड क्लबकी सुमित्रा रेग्मीले प्राप्त गरिन्। दुवैले समान ५० हजार रुपैयाँ पाए।

एपिएफका महेश चौधरी पुरूष टिमका र पुलिस क्लबका रुपेश विष्ट महिला टिमका उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे। उनीहरूले पनि जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

टिम अफ द इयरमा पुरुषतर्फ एपिएफ र महिलातर्फ नेपाल पुलिस क्लबले २-२ लाख रुपैयाँ प्राप्त गरे। त्यस्तै गत वर्ष काभा यू-२० च्याम्पियनसिपमा दोस्रो बन्न सफल पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरियो।

महिला राष्ट्रिय टोलीको पूर्व कप्तान विनिता बुढाथोकीलाई पनि संघले ५० हजार रुपैयाँ सहित सम्मान गर्यो। यस्तै, मेरो खेलकी लक्ष्मी शाक्यलाई ५० हजार रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो।

संघले कार्यक्रममा ५० वर्षपछि जापानबाट नेपाल आएका पूर्व भलिबल प्रशिक्षक हारोउ हैसोलाई पनि सम्मान गरेको छ। संघले आयोजनामा २०८० को प्रदर्शनको आधारमा खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तिवहरूलाई सम्मान गरेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको