काठमाडौं । श्रीलंकाविरुद्ध सहज जित निकाल्दै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा श्रीलंकाविरुद्ध नेपालले ५–० को जित निकालेको हो।
नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम र विज्ञान खड्काले गोल गरे। जितसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अंक बटुल्यो। समान खेलबाट समान अंक रहे पनि भारत अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।
नेपालको यो जितसँगै भारत पनि एक खेलअगाबै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को फराकिलो हार बेहोरेको थियो। योसँगै श्रीलंका जित, अंक र गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
अब मंगलबार हुने समूह चरणको अन्तिम खेलले शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ। अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले आइतबार नै सम्पन्न खेलमा भुटानलाई ३–० ले पाखा लगाएको थियो।
पहिलो हाफको चार मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।
राम थापाले दिएको क्रस बललाई सुजनले नियन्त्रणमा लिए। डिबक्सभित्र रहेको बेला लछु थापाले श्रीलंकाका अन्तिम डिफेन्डरलाई ब्लक गर्दै सुजनका लागि गोल गर्ने अवसर मिलाइदिएका थिए। जसलाई उनले गुमाएनन्।
६१औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। सुवास बमले उपलब्ध गराइदिएको क्रसलाई श्रीलंकाकी डिफेन्डर ओमिथ इदिरीसिंघेले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल धर्वेन्द्रलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।
७७औं मिनेटमा सुवास आफैंले गोल गरे। उनले डिबक्स भित्रबाट गोल गरेका हुन्। ९०औं मिनेटमा विज्ञानले चौथो गोल गरे। सुजनले उपलब्ध गराएको बललाई विज्ञानले सिक्स यार्ड बक्सनजिकबाट सहजै फिनिसिङ गर्दै सानदार जित दिलाए।
योसँगै नेपालले साफ यु–१९ मा श्रीलंकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ। सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा भएको पहिलो भेटमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। उक्त खेलमा आयुष घलान, कृतिशरत्न छुन्जु र मनांग्य नकर्मीले गोल गरेका थिए।
गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो। उक्त जितमा नीरन्जन धामीले गरेको गोल नै निर्णायक बनेको थियो।
साफ यु–२० च्याम्पियनसिपकै नामबाट भएको उक्त प्रतियोगितामा नेपाल फाइनल पुग्दा श्रीलंका भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।