चेयरम्यान कप चेसमा ३ सय १९ खेलाडी


काठमाडौं। काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा वुधबार सुरु भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना तथा हिमालयन चेस एकेडेमी (एचसीए) को व्यस्थापनमा सञ्चालित प्रतियोगितामा गल्र्स र ब्वाइजका गरी कुल ६ स्पर्धासमावेश गरिएको छ। पहिलो दिन दुई चरणका खेल सम्पन्न भएको छ, जसमा कक्षा १ देखि ४ सम्म गल्र्सतर्फ ६ खेलाडीले शतप्रतिशत जित हासिल गरे।

धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविका आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोडेका हुन्। ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले २–२ अंक बनाएका हुन्।

कक्षा ५ देखि ८ ब्वाइजमा आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली, राजु राईले सुरुआती दुवै चरणमा जित दर्ता गरे। गल्र्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री, काश्यपी मैनालीले सफलता हात पारे।

कक्षा ९ देखि १२ गल्र्सतर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाइँ, स्मारिका लामा, समिक्षा रपाल, साङ्मेन्दु तामाङले दुवै खेल जिते। ब्वाइजमा प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी, अभिनव पाण्डेले पनि २–२ अंक बनाए।

स्वीस प्रणलीको आधारमा आयोजित र्यापिड चेसमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिका सहभागि छन्। दुई दिने च्याम्पियनसिपको उद्घाटन कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताका पहिलो च्याम्पियन मोनालिशा खम्बूले गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको