
काठमाडाैँ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ र जनक भारतीको जोडी १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोही स्पर्धामा नेपाल विद्युत प्राधिकरणका राजु महर्जन र रत्न श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका देवेन्द्रप्रसाद पाण्डे र रमेश कुँवर तथा विद्युतका छविलाल भट्टराई र विष्णु मास्केको जोडी पनि सेमिफाइनलमा पुग्न सफल भए।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा नागरिक उड्डयनका क्यालजाङ लामा, विद्युतका मंगेश तामाङ, कृषि विकास बैंकका टक्कर कुँवर र विद्युतका भक्तराज जोशीले सेमिफाइनलमा स्थान सुरक्षित गरे।
हात्तिगौडास्थित ¥र्याकट एन्ड रोल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको महिला सिंगल्स, पुरुष डबल्स, भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र एक्जिक्युटिभ डबल्सका स्पर्धामा क्वाटरफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगिताअन्तर्गत टेबलटेनिस र फुटसल पनि हुनेछ। टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा खेलाइने छ।