सप्तरी प्राइड लिग : राजविराज र तिरहुट टाइगर्स सेमीफाइनलमा


सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको आजको पहिलो खेल नतिजाविहिन रहंदा दोश्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ।

साेमबार सम्पन्न खेल पछि समुह ‘ए’ बाट राजविराज राजदेवी रोयल र समुह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन समेत रहेको तिरहुट टाइगर्स सेमीफाइनल प्रवेश गरेका छन्।

आजको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको हो। नतिजा नआउदा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सले १/१ अंक बाँडेका हुन्।

पबी स्कुल मैदानमा टस हारेर ब्याटिङ गरेको राजबिराज राजदेवी रोयलले १४.१ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो। त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहिन टुंगिएको हो।

राजविराज राजदेवी रोयल्सको लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए जुन क्रममा उनले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविन यादवले १४ रन बनाए।

राजगढ वारियर्सको बलिङमा रोशन यादवले सर्वाधिक ३ विकेट लिएका थिए जुन क्रममा उनले ३ ओभरमा २९ रन खर्चिए। बिकी पासवानले १ विकेट लिए।

साेमबारको दोस्राे खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई १० विकेटले पराजित गर्यो।

वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपनी राइडर्सले ९.४ ओभरमा ५८ रन मात्र बनाउन सकेको थियो। ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो।

टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए जुन क्रममा उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे।

यस अघि पहिलो इनिंग्समा तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिस्ट एक्लैले ५ विकेट लिंदै राइडर्सलाई सस्तोमै समेट्न अहम भूमिका निभाए। प्लेयर अफ द म्याच बिस्टले ३ ओभरमा १२ रन खर्चेर माथिल्लो क्रम ध्वस्त पारे। यस्तै अजय यादवले ३ विकेट लिए जुन क्रममा २. ४ ओभरमा १० रन खर्चिए। अनिल यादवले १ विकेट लिए।

राइडर्सको ब्याटिङमा बिकी चौधरीले १५ तथा बिशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

साेमबारको खेल पछि अंकतालिकाको समुह ‘ए’मा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल शीर्ष स्थानमा छ जसले सेमोफाइनलमा स्थान समत पक्का गरेको छ।

समुह ‘ए’ को दोस्राे स्थानमा ३ खेलमा ३ अंकसहित राजगढ वारियर्सछ। समान २ खेल खेलेको कन्चनरुप राइनोज र हनुमाननगर हिरोज क्रमशः २ र ० अंक सहित तेस्राे र चौँथाे स्थानमा छ। हनुमान नगरको दोस्राे चरण पुग्ने सम्भावना समाप्त हुँदा राइनोजले भने अन्तिम खेलमा जित दर्ता गरे अर्को चरण पुग्नेछ।

यस्तै समुह ‘बी’ अन्तर्गत तिरहुट टाइगर्स ३ खेलमा ६ अंक सहित समुहको शीर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान पक्का गरेको छ। रुपनी राइडर्स भने तिन वटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको छ। रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सको समान २ अंक छ। वीरपुर र वारियर्स बीच भोलि हुने खेलमा विजयी हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजनप गरिएको छ। सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको