काठमाडौं । टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासेफिक (इएपी) क्षेत्रीय छनोटमा नेपाल आफ्नो समूहको विजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
समूह बी बाट नेपालसँगै उपविजेता रुपमा जापान पनि सुपर सिक्समा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा जापानलाई पराजित गरेको नेपालले सुपर सिक्समा दुई रनका साथ प्रवेश गरेको छ ।
शुक्रबार भएको ओमान तथा पपुवा न्यु गिनीबीचको समूह चरणको अन्तिम खेल सँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुगों लागेको छ । ९ राष्ट्र सहभागी यस प्रतियोगितामा तीन समूह रहेकामा हरेक समूहबाट समान शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाएका हुन् ।
सुपर सिक्समा समूह ए बाट युएई र कतार, समूह बी बाट नेपाल र जापान तथा समूह सी बाट ओमान र समोआले स्थान बनाएका छन् । समूह चरणका दुवै खेल जितेर दुई अंकका साथ नेपाल, युएई र ओमान सुपर सिक्स पुगेका हुन् । भने, प्रतियोगिताबाट बाहिरिएको टोलीलाई पराजित गरी कतार, जापान र समोआ सुपर सिक्स पुगेका हुन् ।
नेपाल सहितका तीन राष्ट्रसँग समान दुई अंक भए पनि रन रेटका कारण ओमान शीर्षमा, नेपाल दोस्रोमा तथा युएई तेस्रो स्थानमा छ । सुपर सिक्समा समूह चरणमा खेलेको टिम बाहेक अन्य चार टोलीसँग खेल हुनेछ । यसकारण नेपाल सुपर सिक्समा युएई, कतार, ओमान र समोआसँग खेल्नेछ । सुपर सिक्सका खेलहरु आइतबारबाट सुरु हुदैछ ।
पहिलो खेलमा आइतबार दिनको ४ः१५ मा नेपालले युएईको सामना गर्दा दोस्रो खेलमा सोमबार बेलुका ८ः४५ मा कतारसँग खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा बुधबार राती ८ः४५ मा घरेलु टोली ओमानसँग खेल्दा अन्तिम तथा चौथो खेलमा शुक्रबार दिनको ४ः१५ मा समोआसँग खेल्नेछ ।
सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत तथा श्रीलंकामा आयोजना हुने टि२० विश्वकपमा स्थान बनाउँने छ । नेपाल छनोट चरण पार गर्दै लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा छ ।