काठमाडौं । पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले दोस्रो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउँन सक्यो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । कुशलले अघिल्लो खेलमा समेत अर्धशतक बनाएका थिए । जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।
डान ड्वाउथवेट १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३७ रनमा आउट हुनुको अलावा पोखराका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् । किरण ठगुन्ना ९, दिनेश खरेल र सुमित बर्मा समान ६ तथा एडम रोसिङ्टन १ रनमा आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले २ तथा हेमन्त धामी, स्कट कुगेलेन, अभिनाश बोहोरा, कप्तान दिपेन्द्र तथा नरेन साउदले समान १ विकेट लिए ।
त्यसअघि पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए । पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए ।
अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए ।
अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए । स्कट कुगेलेन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे । सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन । उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो ।
पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए । लगातार दुई खेल जितेको सुदूरपश्चिम ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो । लगातार २ खेलमा पराजित पोखरा अंक बिहिन रहँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो ।
मंसिर २७ सम्म चल्ने दोस्रो संस्करणको लिगमा ८ टोलीको सहभागीता रहेको छ ।


