काठमाडौं। आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइओफटिसीको १५ औँ संस्करण राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार हुँदैछ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताउनुभयो। ‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोको आयोजना भएको हो। अहिले १५ औँ संस्करणसम्म आइपुग्दा यसको आकार वृहत भइसकेको छ। आइओएफटिसीले आफ्नो उद्देश्यअनुरुप तेक्वान्दोमार्फत् खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्धन गर्दै आएको छ।’ उहाँले भन्नुभयो।
यसैगरी आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकोमा आइओएफटिसीलाई धन्यवाद दिनुभयो। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ। जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ।
आइओएफटिसी नेपालका महासचिव गिरिबहादुर सुनारले नेपालमा हुने १५ औँ संस्करणलाई अझ भव्य बनाउने लक्ष्य हामीले लिएका छौँ। अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना हुनेछ, जसले नेपालको समृद्ध सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ, भन्नुभयो। प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियन्सीपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बङगलादेशलगायतका राष्ट्रको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करीब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ।
वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५ औँ संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन्। सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ। सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ। प्रतियोगितामा कूल २२२ स्वर्ण पदक, २२२ रजत पदक र ४४४ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ। प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपियाँ रहेको छ।


