काठमाडौं। धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्म दौड्ने भएका छन्। ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने छन्।
करिब ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए। सोको रुट अवलोकन गर्न कार्की पूर्व खेलाडी गोकुल खत्रीसंगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन्।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने छन्। उनी त्यहीका बासिन्दा हुन्। हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन्। त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए।


