काठमाडौँ। नेपाल भलिबल संघको आयोजनामा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार पनि चार खेल हुने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहान १० बजेबाट सुरु हुने दिनको पहिलो खेलमा पुरुषतर्फ विभागीय टोली एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब आमनेसामने हुनेछन्। समूह ‘ए’ बाट दुवै खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लब यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।
दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ। दुवै टोली यसअघि नेपाल पुलिस क्लबसँग पराजित भएका थिए।
महिलातर्फ समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले आ–आफ्ना अघिल्ला खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेलमा विजयी टोली समूह विजेता बन्नेछ।
दिउँसो ४ बजे हुने समूह ‘ए’ को खेलमा एभरेष्ट भलिबल क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लब भिड्नेछन्। न्यु डायमन्ड तेस्रो जितको खोजीमा रहँदा एभरेष्ट भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।


