काठमाडौँ। घरेलु फुटबलमा आधुनिक सोच र दीर्घकालीन दृष्टिकोण भएका युवा प्रशिक्षकका रूपमा परिचित बालगोपाल साहुखलालाई सातदोबाटो युथ क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
आगामी २५ पुसदेखि सुरु हुने राष्ट्रिय लिगलाई लक्षित गर्दै सातदोबाटोले साहुखलालाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो। युवा खेलाडी विकास र टिम व्यवस्थापनमा उनको अनुभवलाई क्लबले विशेष महत्व दिएको छ।
साहुखलाले नेपाली फुटबलमा विभिन्न तहमा रहेर योगदान दिँदै आएका छन्। उनी नेपाली यु–२० पुरुष राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका छन् भने नेपाल यु–१९ महिला राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकका रूपमा नेतृत्व गरेका थिए।
घरेलु लिगमा उनले ‘ए’ डिभिजनको च्यासल युथ क्लब, ‘बी’ डिभिजनको सरस्वती युथ क्लब र ‘सी’ डिभिजनको महावीर क्लबको प्रशिक्षण सम्हालिसकेका छन्।
प्रशिक्षणसँगै उनले एफसी रिएले नामक फुटबल क्लबको स्थापना पनि गरेका छन्, जसले ग्रासरुट तहदेखि नै खेलाडी उत्पादनमा काम गर्दै आएको छ।


