शेरबहादुर खड्का स्मृति भलिबल : पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा


काठमाडौं। नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा बिहिबार सम्पन्न खेलमा दुवै टोली आ–आफ्नो खेलमा विजयी हासिल गरेका छन्। ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै फाइनलमा पुगेका हुन्।

दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ ले पराजित गरे। भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित ग¥यो।

अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो। लगातार दोस्रो पराजयसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन्। यसअघि पुलिसले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए।

पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोश्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।
सहभागी ४ टिम मध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। पुलिस साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेत हो। एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ। विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको