न्यु डायमन्ड दोस्रोपटक च्याम्पियन


काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ। यो प्रतियोगितामा न्यु डायमन्ड दोस्रोपटक च्याम्पियन बनेको हो। सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमन्डले साविक विजेता नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित ग¥यो। न्यु डायमन्डकी प्रगति नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

राउन्ड लिगमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–०, एपीएफलाई ३–२ र प्रहरीलाई ३–२ ले हराको थियो। एक साताको अवधिमा न्यु डायमन्डको यो दोस्रो उपाधि हो। यसअघि न्यु डायमन्डले प्रहरीलाई नै पाखा लगाएर एनभीए भलिबलको उपाधि जितेको थियो।

सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफले तेस्रो स्थानमा चित्त बुझायो। एपीएफले आर्मीलाई २५–१३, २५–२३ र २५–१८ को सोझो सेटमा हरायो। एपीएफकी मिना सुनार ‘प्लेयर अफ द म्याच’ बनिन्।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे। न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट चुनिइन्। प्रतिभाले हाइलाइफद्वारा प्रायोजित ५० हजार नगदसहित ट्रफी पाइन्।

एपीएफकी मिना सुनार उत्कृष्ट सपाइकर, यसै प्रतियोगिताको उद्घाटनमा शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, प्रहरीकी पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक ठहरिए। उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको