काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ। ढल्कोटोले ७ स्वर्ण र १ रजत जित्यो। जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको काठमाडौंको लैनचौर तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो।
थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो संघलाई सहयोग स्वरुप ल्यापटप प्रदान गरेको थियो । दुईदिने प्रतियोगितामा २ सय २७ खेलाडी विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो। यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए। लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ। त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ। मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने छ।
प्रदर्शनलाई नै मध्यनजर गरी दोश्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ।


