काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले वार्म अप खेलमै कमजोर प्रदर्शन गर्दै आयरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ।
बुधबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनको फराकिलो अन्तरले पराजित भयो। २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले एक ओभर बाँकी रहँदा नै सबै विकेट गुमाउँदै १०१ रनमै समेटियो।
नेपालका लागि मध्यक्रमकी कविता जोशीले सर्वाधिक २८ रन बनाइन्। २९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। ओपनर विन्दु रावलले २५ रन जोडिन् भने कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्। अन्य ब्याटरबाट उल्लेख्य योगदान आउन सकेन।
आयरल्यान्डका बलरहरू प्रभावशाली देखिए। ओर्ला प्रेन्डरगास्ट, लारा म्याकब्राइड, अर्लीन केली र एमी म्यागुइरले समान २–२ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो।
आयरल्यान्डकी ओपनर गाबी लेविसले ७७ रनको उत्कृष्ट पारी खेलिन्। ३८ बलमा १२ चौका र २ छक्का प्रहार गरेकी उनी रिटायर्ड हर्ट भइन्। त्यस्तै, ओर्ला प्रेन्डरगास्टले ६२ रन बनाइन्, जसमा ८ चौका र ३ छक्का समावेश थियो। उनी पनि रिटायर्ड हर्ट भइन्।
अन्य ब्याटरमध्ये लेआ पल २१ रनमा रिटायर्ड भइन् भने सारा फोब्स १५ र अर्लीन केली ११ रनमा आउट भइन्।
नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन्।
वार्म अप खेलमै आएको यस्तो कमजोर प्रदर्शनले नेपाललाई ग्लोबल क्वालिफायरअघि सुधार गर्नुपर्ने पक्षहरूतर्फ गम्भीर ध्यान दिनुपर्ने संकेत गरेको छ।


