राष्ट्रिय लिग: मनाङको लज्जास्पद हार


काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा लज्जास्पद हार बेहोरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ५–० को फराकिलो अन्तरले पराजित भयो।

आर्मीको सानदार जितमा निराजन धामीले दुई गोल गरे भने नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले एक–एक गोल थपे। खेलको सुरुदेखि नै आक्रामक देखिएको आर्मीले पहिलो हाफमै दुई गोल गर्दै खेलमा स्पष्ट पकड जमाएको थियो।

दोस्रो हाफमा पनि आर्मीको दबाब कायमै रहँदा मनाङको रक्षापंक्ति पूर्ण रूपमा कमजोर देखियो। निरन्तर आक्रमणका कारण मनाङले थप तीन गोल खान पुग्यो र खेल एकतर्फी बन्यो।

यस जितसँगै प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको आर्मीले राष्ट्रिय लिगमा विजयी सुरुआत गर्दै पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। उता, मनाङ भने कमजोर प्रदर्शनसँगै प्रतियोगिताको सुरुआतमै दबाबमा परेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको