काठमाडौं। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षकका रूपमा माइकल क्यारिकले दोस्रो इनिङको उत्कृष्ट सुरुवात गरेका छन्।
शनिबार ओल्ड ट्राफोर्डमा भएको १९८औँ म्यानचेस्टर डर्बीमा युनाइटेडले उपाधि दाबेदार म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै सहरमा आफ्नो दबदबा देखायो।
रुबेन अमोरिमको बिदाइपछि टोली सम्हालेका क्यारिकले पहिलो खेलमै समर्थकलाई खुसी तुल्याए। दोस्रो हाफको ६५औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा ब्रायन एम्बेउमोले गोल गर्दै अग्रता दिलाए भने ७६औँ मिनेटमा प्याट्रिक डगुले दोस्रो गोल थपे।
युनाइटेडको प्रभावशाली प्रदर्शनका अगाडि सिटीका स्टारहरू फोडेन र हालान्ड निष्प्रभावी देखिए। जितसँगै युनाइटेडले सिटीको उपाधि यात्रामा ठूलो धक्का दिएको छ।
जारी सिजन २२ खेलबाट ३५ अंक बनाएको युनाइटेड पाँचौं स्थानमा छ भने समान खेलबाट सिटी ४३ अंकसहित दोस्रो स्थानमा छ।


