बार्सिलोनालाई सोसिडाडले लगायो २–१ ले झट्का


काठमाडौं। ला लिगाअन्तर्गत रियल सोसिडाडले घरेलु मैदानमा बार्सिलोनामाथि २–१ को रोमाञ्चक जित हात पारेको छ। अन्तिम क्षणसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा सोसिडाडले निर्णायक गोल गर्दै तीन अंक सुरक्षित गर्‍यो।

खेलको ३२औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए। दोस्रो हाफमा बार्सिलोना आक्रामक बनेको थियो र ७०औँ मिनेटमा मार्कस र्‍यासफोर्डले लामिन यामलको पासमा हेडरमार्फत बराबरी गोल फर्काए।

तर बराबरी धेरै समय टिक्न सकेन। ७१औँ मिनेटमा गोन्सालो गुएडेसले कार्लोस सोलरको सहयोगमा उत्कृष्ट गोल गर्दै सोसिडाडलाई पुनः अग्रता दिलाए। खेलको अन्त्यतिर सोसिडाड १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले बराबरी गोल निकाल्न सकेन।

अतिरिक्त समयमा बार्सिलोनाले लगातार आक्रमण गरे पनि एलेक्स रेमिरोको उत्कृष्ट गोलकिपिङ र सोसिडाडको मजबुत रक्षाका कारण खेल २–१ मै समाप्त भयो।

यस जितसँगै रियल सोसिडाडले घरेलु मैदानमा महत्वपूर्ण तीन अंक जोड्दा बार्सिलोना भने निराशाजनक पराजय व्यहोर्न बाध्य भयो। जारी लिगमा २० खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा यथावत् छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको