काठमाडौं। अफ्रिका कप अफ नेसन्स (एएफकन) को फाइनल फुटबलभन्दा बढी विवादास्पद निर्णय र समर्थकको अराजक गतिविधिका कारण स्मरणीय बन्यो। आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा सेनेगलले घरेलु टोली मोरोक्कोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक एएफकन उपाधि जितेको हो।
अतिरिक्त समयमा पापे गुएयेले गरेको निर्णायक गोल सेनेगलको ऐतिहासिक जितको आधार बन्यो। त्यसअघि दोस्रो हाफको इन्जुरी समयमा मोरोक्कोका ब्राहिम डियाजले पेनाल्टी गुमाउँदा घरेलु समर्थक स्तब्ध बने।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा भएका निर्णयहरूले खेललाई पूर्ण रूपमा विवादमा तान्यो। सेनेगलको एक गोल अस्वीकृत भएपछि मोरोक्कोलाई पेनाल्टी दिइयो। यही निर्णयपछि दुवै टोलीका खेलाडी, प्राविधिक स्टाफ र समर्थकबीच झडप सुरु भयो।
सेनेगल समर्थकहरू मैदानमा प्रवेश गर्न खोजेपछि प्रहरी र सुरक्षाकर्मी हस्तक्षेप गर्न बाध्य भए। ढुंगामुढा, होर्डिङ तोडफोड र झडपका कारण खेल करिब १० मिनेटसम्म रोकियो। अत्यधिक दबाबबीच पेनाल्टी लिन पुगेका ब्राहिम डियाजको पानेन्का शैलीको प्रहार गोलकिपर एडुआर्ड मेन्डीले सहजै नियन्त्रण गरे। उक्त क्षणले मोरोक्कोको मनोबल पूर्ण रूपमा खस्कियो।
अतिरिक्त समय सुरु हुन नपाउँदै सेनेगलले खेलमा पकड जमायो। इद्रिसा गाना गुएयेको पासमा पापे गुएयेले गरेको शक्तिशाली प्रहार अन्ततः खेलको निर्णय गर्यो।
घरेलु मैदानमा ५० वर्षपछि एएफकन उपाधि जित्ने मोरोक्कोको सपना अन्तिम क्षणमा चकनाचुर भयो। उत्कृष्ट गोलकिपिङ गरेका यासिन बुनुले खेलभर टोलीलाई जोगाए पनि निर्णायक क्षणमा मोरोक्को सम्हालिन सकेन।
यस जितसँगै सेनेगलले सन् २०२२ पछि दोस्रो पटक एएफकन उपाधि हात पारेको छ। अन्तिम सिठ्ठीसँगै सेनेगलका खेलाडीहरू समर्थकसँग उत्सव मनाउन दौडिए भने मोरोक्कोका खेलाडीहरू स्तब्ध अवस्थामा मैदानमै ढल्नपुगे।
यो फाइनल एएफकन इतिहासकै सबैभन्दा नाटकीय, भावनात्मक र विवादास्पद खेलहरूमध्ये एकका रूपमा लामो समयसम्म सम्झिइनेछ।


