पिसोमाथि इन्टरको गोल वर्षा


काठमाडौं। इटालीको सिरी ए मा इन्टर मिलानले पिसोमाथि गोल वर्षा गर्दै ६–२ को शानदार जित निकालेको छ। सुरुआतमै दुई गोलले पछि परेको इन्टरले पुनरागमन गर्दै घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्‍यो।

खेलको ११औँ र २३औँ मिनेटमा स्टेफानो मोरियोले पिसाका लागि गोल गर्दै पाहुना टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर त्यसपछि इन्टरले खेलमा नियन्त्रण जमायो। ३९औँ मिनेटमा पिओत्र जेलिन्स्कीले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलमा फर्काए भने ४१औँ मिनेटमा कप्तान लाउतारो मार्टिनेजले बराबरी गोल गरे। पहिलो हाफको इन्जुरी समयमा फ्रान्चेस्को पियो एस्पोसिटोले गोल गर्दै इन्टरलाई ३–२ को अग्रता दिलाए।

दोस्रो हाफमा इन्टरको आक्रमण अझ प्रभावकारी बन्यो। ८२औँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गरे भने ८६औँ मिनेटमा एन्जे–योआन बोन्नीले पाँचौँ गोल थपे। खेलको अन्तिम समयमा हेनरिक मिखितारियनले हेडरमार्फत गोल गर्दै इन्टरको जित ६–२ मा पुर्‍याए।

यो जितसँगै इन्टर मिलानले सिरी ए का २२ खेलबाट ५२ अंक पुर्‍याएको छ र शीर्ष स्थानमा मजबुत बनेको छ। दोस्रो स्थानमा रहेको एसी मिलानको ४६ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको