टी–२० विश्वकप : बंगलादेशको सट्टा स्कटल्यान्ड खेल्ने


काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ।

आईसीसीका अनुसार बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० ले प्रकाशित खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी हुन अस्वीकार गरेपछि यो निर्णय लिइएको हो। २० टोली सहभागी हुने टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुँदैछ।

बीसीबीले भारतमा हुने आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो। तर भारतमा बंगलादेशी टोलीका लागि कुनै पनि सुरक्षा खतरा नरहेको निष्कर्ष निकाल्दै आईसीसीले उक्त माग अस्वीकार गरेको थियो।

तीन साताभन्दा बढी समयसम्म आईसीसी र बीसीबीबीच निरन्तर संवाद भएको थियो। यस क्रममा भर्चुअल तथा प्रत्यक्ष बैठकहरू आयोजना गरिनुका साथै आन्तरिक र बाह्य सुरक्षा विज्ञबाट स्वतन्त्र सुरक्षा मूल्याङ्कन पनि गराइएको थियो। संघीय तथा राज्यस्तरीय सुरक्षा व्यवस्थासहित विस्तृत सुरक्षा योजना बीसीबीलाई प्रस्तुत गरिएको आईसीसीले जनाएको छ।

सुरक्षा मूल्याङ्कनपछि भारतमा बंगलादेशी टोली, अधिकारी वा समर्थकका लागि कुनै ठोस खतरा नरहेको निष्कर्ष निकालिएको आईसीसीको भनाइ छ। प्रतियोगिताको निष्पक्षता, तालिकाको पवित्रता र अन्य टोली तथा समर्थकको हितलाई ध्यानमा राख्दै खेल तालिका परिवर्तन नगर्ने निर्णय गरिएको हो।

बुधबार बसेको आईसीसी बिजनेस कर्पोरेसन ९आईबीसी० बोर्डको बैठकले बीसीबीलाई २४ घण्टाभित्र सहभागिताबारे स्पष्टता दिन आग्रह गरेको थियो। तर तोकिएको समयभित्र कुनै पुष्टि नआएपछि आईसीसीले वैकल्पिक टोली छनोट प्रक्रिया अघि बढाएको हो।

योग्यताअनुसार स्कटल्यान्ड प्रतियोगितामा छनोट भएको छ। स्कटल्यान्ड हाल टी–२० अन्तर्राष्ट्रिय वरियतामा १४औँ स्थानमा रहेको छ, जुन प्रतियोगितामा सहभागी नामिबिया, यूएई, नेपाल, अमेरिका, क्यानडा, ओमान र इटालीभन्दा अगाडि पर्छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको