काठमाडाैं। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो।
न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन्।
न्यू डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। एपीएफले भने पहिलो हार बेहोरेको छ। यसअघि एपीएफले थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो।
अब आजको दोस्रो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबिच हुनेछ। त्यसपछि पुरुषतर्फका खेल हुनेछन्। पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन्। दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।


