पाेखरा । होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन्।
कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमका विच भएको सेमीफाइनल खेलमा होराइजन क्लब १–० गोल अन्तरले विजयी बनेपछि मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग भिड्ने पक्का भएको हो। प्रहरीले तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो।
माघ १६ गते दिनको १ बजे हुने फाइनल खेलमा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
बुधवार होराइजन क्लब स्याङ्गजाको टीमका जर्सी नं ११ का खेलाडी टिकाराज गुरुङ्गले खेलको ७३ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले बुधवारको म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका थिए।


