पोखरा। पोखरामा १९औँ बिटी कप तथा ९औँ विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता माघ २२ गतेदेखि सुरु हुने भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १ स्थित बगरको पुरानो टुडिखेलमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद २ लाख २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
बुद्वटोल युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। वि.सं. २०७० मा स्थापना भएको बुद्वटोल युवा क्लब सामाजिक तथा खेलकुद गतिविधिमार्फत समाजमा सकारात्मक योगदान दिँदै आएको क्लब हो। युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यसँगै फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यसअघि क्लबले १८औँ संस्करणको फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा आयोजना गर्न लागिएको यस प्रतियोगिताले गाउँ–कुनाका प्रतिभावान खेलाडीलाई समेत अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। ‘हामी एक हौं’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लब सामाजिक सेवा, कला–संस्कृतिको संरक्षण तथा खेलकुदको विकासमा सक्रिय रहँदै आएको क्लब अध्यक्ष सन्तोष गुरुङले जनाए।
प्रतियोगिताका मुख्य प्रायोजक मायु गुरुङ रहेका छन् भने सह–प्रायोजकमा फायर पिज्जा, लेकसाइड रहेका छन्। साथै दि टि स्लम यूके, मिटि क्लब र हडकर प्रतियोगिताका सहयोगी रहेका छन्। विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्ट्स बाइक प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। अनुशासित टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क नगद १० हजार रुपैयाँ तोकिएको छ।


