वेस्ट इन्डिजसँग नेपाल पराजित


काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

पहिलो खेलमा इंल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो।

वेस्ट इन्डिज लगातार तेस्रो जितसँगै सुपर ८ मा प्रवेश गरेको छ। नेपाल भने लगातार तेस्रो हारसँगै अंकविहीन छ। नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।

मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

उसको लागि सिमरोन हेट्मेयरले ४६ र साई होपले ६१ रनको योगदान गरे। ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको