१२ वर्षपछि आयोजक सहारा फाइनलमा, मनाङ टाइब्रेकरमा पराजित


काठमाडौं। आयोजक सहारा क्लब १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा सहारा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ७–६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो।

टाइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्द कुमार निउरे, शिशष थापा, विनय तामाङ र प्रशन्न थापाले सफल प्रहार गरे। मनाङका आशिष श्रेष्ठ, गिडेओन नोहा, रोनिश धेके, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे पनि कप्तान सवीन खड्काको प्रहार रोकिँदा टोली फाइनल पुग्नबाट वञ्चित भयो।

जितसँगै सहाराले अब शनिबार हुने फाइनलमा जावलाखेल युवा क्लब र उज्वेकिस्तानको आभा फुटबल क्लब बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल भोलि हुनेछ।

प्रतियोगिताको विजेताले १४ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको