काठमाडौं। रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–० को सहज जित निकाल्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। यस जितसँगै बार्सिलोनाले २५ खेलबाट ६१ अंक जोडेको छ। समान खेलबाट रियल मड्रिडको ६० अंक रहेको छ।
१८ अंकसहित १९औँ स्थानमा रहेको लेभान्टेविरुद्ध घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलको चौथो मिनेटमै मार्क बर्नालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३२औँ मिनेटमा फ्रेन्की डी योङले अर्को गोल थप्दै पहिलो हाफमै २–० को स्पष्ट बढत दिलाए।
दोस्रो हाफमा लेभान्टेले खेलमा फर्कने प्रयास गरे पनि बार्सिलोनाको सशक्त रक्षापंक्तिका अगाडि सफल हुन सकेन। खेलको ८१औँ मिनेटमा फर्मिन लोपेजले तेस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।


