काठमाडौं। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेनले इङ्ग्ल्यान्डको चेल्सी फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
बुधबार राति सम्पन्न खेलमा पेरिसका ख्विचा कारत्स्खेलियाले दुई गोल गरे। यस्तै ब्राड्ली बार्कोला, उस्मान डेम्बेले र भिटिन्हाले समान एक–एक गोल थपे।
चेल्सीका तर्फबाट मालो गुस्तो र एन्जो फर्नान्डेजले समान एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
पहिलो लेगमा फराकिलो जित निकालेको पेरिस क्वार्टरफाइनल नजिक पुगेको छ। अब दोस्रो लेग चेल्सीको घरेलु मैदानमा हुनेछ, जहाँ चेल्सीले अघिल्लो चरणमा पुग्न कम्तीमा चार गोलको स्पष्ट जित निकाल्नुपर्ने दबाबमा रहनेछ।


