काठमाडौं। बढ्दो अन्तर्राष्ट्रिय तनावका बीच इरानले फिफा विश्वकप २०२६ मा सहभागी नहुने संकेत दिएको छ।
इरानका खेलकुदमन्त्री अहमद दुन्यामाली ले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन्।
राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने, “यदि हाम्रो राष्ट्रका सर्वोच्च नेतामाथि आक्रमण गरी हत्या गरिएको छ भने हामी यस्तो अवस्थामा कुनै पनि हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं।”
गत फेब्रुअरी २८ यता अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच तनाव र द्वन्द्व चर्किँदै गएको बताइएको छ। यसले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति प्रणालीमा समेत असर पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मन्त्री दुन्यामालीले युद्धको अवस्थाले देशभित्र असुरक्षा बढेको र खेलाडी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न कठिन भएको बताए। उनका अनुसार हालको परिस्थितिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि आवश्यक वातावरण तयार नभएको छ। उनले पछिल्ला महिनाहरूमा युद्धका कारण हजारौँ इरानी नागरिकको ज्यान गएको दाबी समेत गरेका छन्।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिको ले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ।
इरानको समूह चरणका खेलहरू मुख्यतया लस एन्जलस र सियाटल लगायतका अमेरिकी शहरहरूमा हुने तालिका रहेको छ। यद्यपि जियानी इन्फान्टिनो र डोनाल्ड ट्रम्प ले भने इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्न तयार रहेको बताएका छन्।


