काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि कठिन जित दर्ता गरेको छ।
यस जितसँगै मच्छिन्द्रले १० खेलबाट २५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको नेपाल पुलिस क्लब भने ८ अंकमै सीमित रहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोलले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा अबिनाश स्याङतानले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ३४औँ मिनेटमा करिब ३० यार्डबाट गरेको फ्रिकिङमा सिधै गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो।
पहिलो हाफमा प्राप्त उक्त अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउन सफल भयो। दोस्रो हाफमा पुलिसले बराबरी गोलका लागि केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्किन सकेन।


