काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा धिहीबार चएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले पराजित गरेको हो। टाईम्सले पाँच खेलमा चौथो जितपछि ९ अंक जोडेको छ। शीर्ष स्थानको आर्मी समान अंक जोडेपनि टाईम्स अंक अन्तरका कारण दोस्रोमा छ।
बुधबारी राती सम्पन्न खेलमा आर्मीले रोएललाई १०३–७५ ले पराजित गरेको छ। लिगमा आर्मीले पाँच खेल खेल्दा यो चौथो जित हो। ९ अंक जोडेको आर्मी स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ। रोएलको यो चौथो हार हो। रोएलले ५ खेलबाट ६ अंक जोडेको छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


