काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेसमाथि सहज जित दर्ता गरेकाे छ।
बिहिबार जनकपुरमा सम्पन्न खेलमा आर्मीले घरेलु टोली मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै अपराजित आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ।
मधेसले दिएकाे १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको छ। आर्मीको जितमा त्रितराज दासले शानदार अर्धशतक प्रहार गरे। उनले ७२ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए। कप्तान बिनोद भण्डारीले २९ बलमा ३२ रन जोड्दै टोलीलाई राम्रो सुरुआत दिलाए।
मध्यक्रममा कुशल मल्लाले २४ रन तथा भिम शार्कीले ८ रनको योगदान दिए। अन्त्यतिर बसिर अहमद ३९ बलमा ४१ रनमा अविजित रहँदा आर्मी सहज जिततर्फ अग्रसर भयो। अर्जुन साउद १ रनमा नटआउट रहे।
बलिङतर्फ मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र बिशाल शुस्लिङले समान १र१ विकेट लिए पनि टोलीलाई जितबाट रोक्न सकेनन्।
त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको मधेसले ४८.३ मा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो।


