नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच


काठमाडौं । अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच।

जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गर्ने घोषणा गरेको हो। रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गरे। एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ को लागि सहकार्यको सम्झौता भएको हो।

सीईओ अग्रवालले भने, “एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोट्र्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ। हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं। जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ। अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ।”

नेपहपका संस्थापक पोखरेलले भने, “रियालिटी शो र स्पोट्र्स लिगवीच पहिलोपल्ट सहकार्यको सम्झौता भएको छ। हामी धेरै खुशी छौं कि हाम्रा ¥यापरहरूले एनकेएलमा एस्पोजर पाउने भएको छ भने एउटा उदाउँदो खेलको रुपमा अगाडि बढेको कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको छ।”

एनकेएल सिजन २ आगामी जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा सुरु हुँदैछ, जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सम्झौता अनुसार नेपहपको श्रीपेचका ¥यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन्। प्रत्येक विजेताले जनही ५० हजार रुपिया पाउने छन्। नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ। कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए। उनीहरूले ¥याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए। एनएकेएल सिजन २ को एन्थम पनि भियोमा तयार गरेका हुन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्नका लागि नेपाल आउन लालयित रहेको बताएका छन्। १६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन्। प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन्।

सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दै छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको