काठमाडाैं। कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ। कान्तिपुर मिडिया गुप्र (केएमजी)ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ। ग्लोबल आईएमई बैंकको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ।
कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ। त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वा“रले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ।
मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउने छन्। त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउने छन्। पहिलो तीन स्थामा आउनेले ट्रफी र मेडल पनि पाउने छन्। ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन्।
कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन्। यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन्। एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताइन्।
कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदैं जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुदैं तीनकुनेमा आएर दौड टुंगिने छ रेस प्रशिक्षक आरके विष्टले जनाए। कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ। तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तिनकुनेमै आएर टुंगिने छ। कलेज रन कोटेश्वर हुदैं तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्कि कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ।
हरेक वर्ष यसलाई परिस्कृत रुपमा आयोजना गर्न केएमजीको प्रत्यन रहेको जनाउदै स्वा“रले यसवर्ष देखि हाफ म्याराथनतर्फ टेक्नोलोजि प्रयोग गरेर दौड पूरा गर्नेको ‘एक्युरेट टाइमिङ’ निकाल्ने बताए। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको टाइटल स्पोनसरमा ग्लोबल आईएमई बैक तथा पावर्ड बाई एक्स्ट्रिम ड्रिङ्क्स रहेको छ। त्यस्तै सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, हस्पिटल पार्टनर फ्रन्टलाइन अस्पताल र फुड पार्टनर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनी रहेका छन्।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कान्तिपुरस“ग छैटौं पटक सहकार्य गर्दै गरेको र स्वस्थ समाज निर्माणका लागि यस किसिमको इभेन्टले महत्वपूर्ण भुमिका खेल्ने हुनाले हातेमालो गर्दै आएको बताए। २०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएको कान्तिपुर हाफ म्याराथनमा सबै विधामा गरी यस पटक ३ हजार देखि ५ हजारसम्म धावक सहभागी हुने अपेक्षा गरेको केएमजीका प्रमुख कार्यकारी अधिकृत स्वा“रले बताए। खेलाडी दर्ताको मिति चैत ३१ गतेसम्म रहेको छ। खेलाडी दर्ता कान्तिपुर इभेन्ट्सबाट गर्न सकिने उनले जनाए।
महिलातर्फ कान्छीमाया कोजुले ५ पटक कान्तिपुर हाफ म्याराथनको उपाधि जितेकी छन्। पुरुषतर्फ हरिकुमार रिमालले चार पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन्। गत वर्ष त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र धादिङकी सन्तोषी श्रेष्ठ कान्तिपुर हाफ म्याराथनमा विजेता बनेका थिए। हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।


