काठमाडौं महानगरपालिका–२९ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ।
आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो। प्रतियोगिता वडा अध्यक्ष कुश ढकालको नेतृत्व तथा सचिव सम्भु बरालको समन्वयमा सञ्चालन हुने जनाइएको छ। साथै, नेपाल पौडी संघले प्रतियोगितामा प्राविधिक सहयोग प्रदान गर्नेछ।
प्रतियोगितामा महानगरभित्रका प्रत्येक वडाबाट ८ जना खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत फ्री स्टाइल, ब्रेस्ट स्ट्रोक, ब्याक स्ट्रोक तथा मिड–इभेन्ट्स समावेश गरिएका छन्। प्रतियोगितामा करिब १५० जना पौडी खेलाडीले ३१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र एक पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताले युवाहरूमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। साथै, वडा स्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ।
वडा अध्यक्ष कुश ढकालले खेलकुदमार्फत युवाहरूलाई अनुशासित, सक्रिय र स्वस्थ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। सचिव सम्भु बरालले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।