काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न दाेस्राे क्वाटरफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अपी स्कुल १९.२ ओभरमा ८३ रनमा समेटियो। अपीका युगान्त कार्कीले सर्वाधिक ३४ रन बनाए भने कुसुम प्रसालले १२ रन जोडे। सैनिक आवासीयका आभाष केसीले ३ विकेट लिए भने सफल पौडेल २ विकेट हात पारे।
८४ रनको लक्ष्य पछ्याएको सैनिक आवासीयले अन्तिम ओभरसम्म संघर्ष गर्दै १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुषान्त नेपालले २४ तथा आभाष केसीले अविजित २० रनको योगदान दिए। अन्तिम क्षणमा शुभव बिष्टले ३ बलमा अविजित ९ रन जोड्दै टोलीलाई रोमाञ्चक जित दिलाए।
अपीका एकेन्द्र बुढाले ३ विकेट लिए भने सृजल कार्कीले २ विकेट हात पारे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सैनिकका आभाष केसी ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।