काठमाडौँ। एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुलका प्रसिद्ध जैशी सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएका छन्।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका प्रसिद्धले २७३ रन बनाउनुका साथै ७ विकेट लिँदै टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले। उनले सर्वोत्कृष्ट खेलाडी बापत नगद १० हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट क्रिकेट किट ब्याग प्राप्त गरे।
प्रतियोगिताको उदयीमान खेलाडी जेम्स स्कुलका स्वराज चौलागाईं घोषित भए। उनले प्रतियोगिताभर १०३ रन बनाउनुका साथै १२ विकेट लिए। उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि उनले नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट विशेष उपहार प्राप्त गरे।

सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य उत्कृष्ट ब्याटर घोषित भए। उनले प्रतियोगिताका ४ खेलमा २३९ रन बनाएका थिए। उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उनले नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट ब्याट तथा ‘डार्क फेन्टासी’को तर्फबाट विशेष उपहार प्राप्त गरे।
यस्तै, डीएभीका कुञ्जन आचार्य १३ विकेटसहित प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए। उनले प्रतियोगिताभर लगातार प्रभावशाली बलिङ प्रदर्शन गरेका थिए।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, खेल सामग्री तथा आकर्षक उपहार प्रदान गरिएको थियो।
फाइनल खेलमा नेपाल पुलिस स्कुललाई हराउँदै डीएभीले लगातार दोस्रोपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले पुलिस स्कुललाई डिएलएस पद्धतीमा ७ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।